वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्य संयन्त्रको दुरुपयोग गरी आफूमाथि नियोजित रूपमा ‘अत्याचार’ गरिएको भन्दै कडा आक्रोश व्यक्त गरेका छन्। निर्वाचनको मनोनयन दर्ताकै दिन अदालतमा बयान र थुनछेक बहसको चपेटामा परेपछि उनले सरकार र राजनीतिक विरोधीहरूको चर्को आलोचना गरेका हुन्।
पर्सा जिल्ला अदालतमा बयान दिएर निस्कने क्रममा लामिछानेले आफूलाई नियोजित घेराबन्दीमा पारिएको दाबी गरे। “देशभर निर्वाचनको रौनक छाउँदा मलाई भने एउटा अदालतबाट अर्को अदालत धाउन बाध्य पारिएको छ,” उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै लेखेका छन्, “ममाथि गरिएको यो अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ।” आफू स्वयं उपस्थित भएर चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गर्ने प्रयास गरे पनि समय अभाव र कानुनी अड्चनका कारण उनले अन्त्यमा वारेसनामार्फत मनोनयन दर्ता गराएका छन्।
सहकारीको बाटो नै नहिँडेको व्यक्ति भए पनि आफूमाथि गनेर नसकिने गरी मुद्दाहरू थोपरिएको गुनासो गर्दै लामिछानेले आफ्नो राजनीतिक भविष्य सिध्याउन खोजिएको आरोप लगाए। उनले आफूलाई कमजोर नठान्न चेतावनी दिँदै भनेका छन्, “मलाई जिउँदो छोडेर तिमीहरूले एउटा गुण लगाएका छौ। म तिमीहरू सबैको गुण चाँडै तिर्छु र त्यो पनि बिना प्रतिशोध। म फेरि पनि भन्छु- म अभिमन्यु होइन, चक्रव्यूह तोडेर निस्कन जान्दछु।” अदालतको आदेश अनुसार १ करोड रुपैयाँ धरौटी माग भएपछि उनले राज्यको शक्ति दुरुपयोग गरेर आफ्नो छवि धमिल्याउन खोजिएको बताएका छन्। उनले यसलाई राजनीतिक प्रतिशोधको पराकाष्ठा भन्दै जनताको अदालतमा यसको अन्तिम फैसला हुने उल्लेख गरे।
