उम्मेदवारी दर्ताको लहरले लोकतन्त्र बलियो बनायो: प्रधानमन्त्री सुशीला कार्की

शुसिला कार्की shushila karki

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर देखिएको उत्साहजनक उम्मेदवारी दर्ताले मुलुकको राजनीतिक अन्योललाई चिरेको बताएकी छिन्।

मनोनयन दर्ता प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको अवसरमा आज एक विशेष सन्देश जारी गर्दै उनले निर्वाचनको सुनिश्चितताले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको उल्लेख गरेकी छिन्।

१६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४०० भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता गराउनु लोकतान्त्रिक प्रणालीप्रतिको प्रगाढ विश्वासको प्रमाण भएको प्रधानमन्त्रीको ठहर छ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्दै उनले सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता नगरिने र सुरक्षा संयन्त्रहरू उच्च सतर्कताका साथ परिचालित रहेको जानकारी दिएकी छिन्।

निर्वाचन कार्यतालिका अनुसार अहोरात्र खटिएर जिम्मेवारी पूरा गरेकोमा निर्वाचन आयोगप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासलाई सफल पार्न रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेकी छिन्। उनले सम्पूर्ण मतदाताहरूलाई आगामी निर्वाचनमा सक्रिय र संयमपूर्वक सहभागी हुन हार्दिक अपिल समेत गरेकी छिन्।