पोखरामा ‘बिल्डिङ सोलुसन’ कार्यक्रम सफलतापूर्वक सम्पन्न

पोखरा । निर्माण, इन्टेरियर तथा एक्स्टेरियर सामग्रीलाई एउटै प्लेटफर्ममा प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजित ‘बिल्डिङ सोलुसन’ कार्यक्रम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। माइक्रो इन्टरनेशनल, बिरा फर्निचर तथा आईटी स्टिल स्ट्रक्चर सोलुसन्सको संयुक्त आयोजनामा पोखरा इन्जिनियरिङ कलेज, सिर्जना चोक–फिर्केमा सम्पन्न उक्त कार्यक्रममा निर्माण क्षेत्रसँग सम्बन्धित नवीन प्रविधि र समाधानहरू प्रस्तुत गरिएका थिए।

मंगलाबार दिउँसो सञ्चालन भएको कार्यक्रममा स्टिल स्ट्रक्चर, आधुनिक फर्निचर, इन्टेरियर तथा एक्स्टेरियर सामग्रीबारे जानकारी दिइनुका साथै प्रयोगात्मक नमुना र डिजाइनहरू अवलोकन गर्न सकिने व्यवस्था गरिएको थियो। कार्यक्रममा इन्जिनियर, आर्किटेक्ट, निर्माण व्यवसायी, विद्यार्थी तथा भवन निर्माणमा रुचि राख्नेहरूको उल्लेख्य सहभागिता रहेको थियो।

आयोजकका अनुसार कार्यक्रममा सहभागीहरूले निर्माण क्षेत्रमा नवीन प्रविधि र व्यावहारिक समाधानबारे उपयोगी जानकारी पाएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमले पोखरामा निर्माण तथा पूर्वाधार विकाससम्बन्धी ज्ञान आदान–प्रदानमा सकारात्मक योगदान पुर्‍याएको आयोजकले जनाएको छ।