काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधि सभा उम्मेदवार नितिमा कार्की सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछिन्। उनले देशको विद्यमान राजनीतिक, सामाजिक र आर्थिक समस्याको दीर्घकालीन समाधान इमानदार, बौद्धिक र जिम्मेवार युवाको नेतृत्वबाट मात्रै सम्भव हुने स्पष्ट धारणा राखेकी छन्।
कार्कीका अनुसार पुराना राजनीतिक अभ्यास, स्वार्थकेन्द्रित नेतृत्व र जवाफदेहिताको अभावले मुलुकलाई पछाडि धकेलेको छ। “अबको नेपाल ज्ञान, सीप र नैतिकतामा आधारित नेतृत्वले अघि बढ्नुपर्छ,” उनले भनिन्, “राजनीति सत्ता लिने माध्यम होइन, जनताको जीवन सहज बनाउने सेवा हो।”
उनले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र युवाको अर्थपूर्ण सहभागितालाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताउँदै जनताको दैनिक समस्यासँग प्रत्यक्ष जोडिने नीतिमा आफू दृढताका साथ उभिने उल्लेख गरिन्। युवालाई देशमै अवसर सिर्जना गर्ने, महिलाको नेतृत्व क्षमता विस्तार गर्ने र राज्यका हरेक तहमा पारदर्शिता कायम गर्ने उनको प्रतिबद्धता छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको स्वच्छ राजनीति, जवाफदेही शासन र नागरिकको प्रत्यक्ष सहभागिताको अवधारणालाई व्यवहारमा उतार्ने दृढ संकल्प व्यक्त गर्दै कार्कीले जनताले दिएको विश्वासलाई काममार्फत् प्रमाणित गर्ने बताइन्। परिवर्तन चाहने मतदातालाई सचेत निर्णय गर्न आग्रह गर्दै उनले नयाँ सोच र नयाँ नेतृत्वलाई अवसर दिन अपिल गरेकी छन्।