सिन्धुली–२ बाट रास्वपाका आशिष गजुरेल, पूर्वाधार विकासका लागि नयाँ आशा

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिन्धुली क्षेत्र नं. २ बाट आशिष गजुरेललाई प्रतिनिधि सभा उम्मेदवारका रूपमा अघि सारेसँगै जिल्लामा नयाँ राजनीतिक बहस र आशा पैदा भएको छ। पूर्वाधार विकास विज्ञ तथा यातायात इन्जिनियर गजुरेल परम्परागत राजनीतिभन्दा फरक सोच, ज्ञान र व्यवहारिक समाधानसहित राजनीतिमा प्रवेश गरेका पात्रका रूपमा हेरिएका छन्।

विदेशमा उच्च शिक्षा हासिल गरे पनि उतै बस्ने सहज विकल्प छोडेर “नेपालमै केही गर्नुपर्छ” भन्ने दृढ सोचका साथ स्वदेश फर्किएका उनी आजको पुस्ताका लागि फरक उदाहरण मानिन्छन्। बढ्दो वैदेशिक पलायनको बीचमा देशमै भविष्य देख्ने उनको निर्णयले धेरै युवालाई प्रेरित गरेको स्थानीयहरू बताउँछन्।

देशका भएका सडक-यातायात समस्या, अव्यवस्थित पूर्वाधार, ढिलो विकास र कमजोर सुशासनबारे लामो समयदेखि आवाज उठाउँदै आएका गजुरेल विकासलाई नारा होइन, योजना र कार्यान्वयनसँग जोडेर हेर्नुपर्छ भन्ने मान्यता राख्छन्। “पूर्वाधार बलियो नभएसम्म आर्थिक समृद्धि सम्भव हुँदैन,” भन्ने उनको धारणा छ। त्यसैले सडक, यातायात प्रणाली, ग्रामीण पहुँच, सुरक्षित तथा दिगो पूर्वाधार उनका मुख्य एजेन्डा हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको नयाँ, स्वच्छ र ऊर्जाशील राजनीतिको अवधारणासँग गजुरेलको पृष्ठभूमि र सोच मेल खाने स्थानीयको बुझाइ छ। रास्वपाले विगत छोटो समयमै संसददेखि सडकसम्म सुशासन, पारदर्शिता र जवाफदेहिताको मुद्दा उठाएर फरक पहिचान बनाएको भन्दै गजुरेलजस्ता प्राविधिक र विज्ञ व्यक्तित्वको प्रवेशले पार्टीको विश्वसनीयता अझ बलियो बनाउने विश्वास गरिएको छ।

परम्परागत नेताभन्दा फरक, तथ्य र समाधानमा आधारित राजनीति गर्ने आशिष गजुरेललाई धेरैले “सिन्धुलीको पूर्वाधार परिवर्तनका लागि सही विकल्प”का रूपमा हेर्न थालेका छन्। विकास चाहने, काम गर्ने र परिणाम देख्ने नेतृत्वको अपेक्षामा रहेका मतदातामाझ उनको उम्मेदवारीले “यसपालि फरकलाई मौका दिऔँ” भन्ने भावना बलियो बनाउँदै लगेको देखिन्छ।