बुटवलमा आई.टी. स्टिल बिल्डिङ सोलुसन्स् कार्यक्रम सम्पन्न

बुटवल। आई.टी. स्टिल स्ट्रक्चर प्रविधिबाट निर्माण हुने भवन, सजावट सामग्री र आधुनिक समाधानबारे जानकारी दिने उद्देश्यले बुटवलमा बिल्डिङ सोलुसन्स् कार्यक्रम सम्पन्न भएको छ। आई.टी. स्टिल स्ट्रक्चर सोलुसन्स् प्रालि, माइक्रो इन्टरनेशनल र बिरा फर्निचरको संयुक्त आयोजनामा बुधबार कार्यक्रम गरिएको हो।

कार्यक्रममा निर्माण क्षेत्रमा कार्यरत इन्जिनियर, आर्किटेक्ट, उद्योगी, निर्माण व्यवसायी, विद्यार्थी तथा नवीन प्रविधिमा चासो राख्नेहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा आई.टी. स्टिल प्रविधिबाट भवन निर्माण गर्ने तरिका, यसको फाइदा, उपयोगिता तथा इन्टेरियर र एक्स्टेरियर सामग्रीको प्रयोगबारे प्रस्तुति तथा प्रदर्शन गरिएको थियो।

कार्यक्रममा बोल्दै आई.टी. स्टिल स्ट्रक्चर सोलुसन्स् प्रालिका टेक्निकल डाइरेक्टर इन्जिनियर सृष्टि गुरुङले नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले भूकम्प प्रतिरोधी, वातावरणमैत्री र अग्नि प्रतिरोधी आई.टी. स्टिल भवन अहिलेको आवश्यकता भएको बताउनुभयो। उहाँले भवन निर्माणमा प्रयोग हुने सामग्री र समाधानलाई एउटै प्लेटफर्ममा प्रस्तुत गर्न बुटवलमा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

माइक्रो इन्टरनेशनलका सञ्चालक विकास न्यौपानेले आई.टी. स्टिल संरचनामा प्रयोग हुने आधुनिक इनडोर तथा आउटडोर डेकोरेटिभ माइक्रो प्यानेल र एसपीसी सामग्रीबारे प्रस्तुति दिनुभयो। उहाँले आरसीसी भवनसरह आकर्षक, किफायती र सजावटयुक्त संरचना निर्माण सम्भव हुने उल्लेख गर्नुभयो।

यस्तै, आई.टी. स्टिलका प्रवन्ध निर्देशक सोनाली गुरुङले आई.टी. स्टिलका भवन भूकम्प प्रतिरोधी, वातावरण अनुकूल, अग्नि प्रतिरोधी र किफायती भए पनि यसको गुणस्तर र उपयोगिताबारे आम नागरिक अझै सचेत हुन नसक्नु दुःखद् भएको बताउनुभयो।

कार्यक्रममा आई.टी. स्टिल भवनमा प्रयोग हुने सामग्रीका नमुना तथा डिजाइनहरू अवलोकनका लागि राखिएको थियो। सहभागीहरूले भवन निर्माण, प्रयोग हुने सामग्री र प्रविधिबारे जिज्ञासा राख्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए।