नेपाली चलचित्र ‘रमिताको पिरतीको’ अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
आइतबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा आयोजित एक कार्यक्रमकाबीच युट्युबमार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा अभिनेत्री आना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ ।
ट्रेलर सार्वजनिकपछि फिल्मको लेखक तथा निर्देशक सुदीप्ता अधिकारीले चलचित्र मार्फत महिलाहरुको भावना ब्रेकअपपछि कस्तो हुन्छ भन्ने कुरालाई भावनात्मक रुपमा देखाउन खोजिएको जानकारी दिइन् । अहिलेको युवाहरुसँग सम्बन्धित रहेर फिल्म निर्माण गरिएको उनको भनाई छ ।
उनले भनिन्,‘केटी मानिसहरुको भावना ब्रेकअपपछि कस्तो हुन्छ भन्ने कुरालाई भावनात्मक रुपमा फिल्म देखाउन खोजिएको छ । अहिलेको युवाहरुसँग पनि सम्बन्धित होस् भन्ने तरिकाले बनाइएको फिल्म हो ।’
यस्तै अभिनेत्री आना शर्माले विगत एक वर्षदेखि आफूले यस फिल्ममा मेहेनत गरिरहेको बताइन् । फिल्ममा आफ्नो भूमिकालाई लिएर मात्र ६ महिना समय बिताएको सुनाउँदै उनले सबै दर्शकले फिल्म मन पराउने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्,‘म यो प्रोजेक्टमा लागेको एक वर्षभन्दा धेरै भइसक्यो । आज आएर ट्रेलर सार्वजनिक गर्दा खुसी लागेको छ । मलाई यो भूमिका अपनाउनको लागि ६ महिना लागेको थियो । सबैले फिल्म मन पराउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’
त्यस्तै अभिनेता धिरज मगरले आना र आफूहले सँगै स्क्रिन सेयर गर्नको लागि धेरै वर्ष कुर्न परेको बताउँदै रमिताको पिरतीमा आएर सँगै काम गर्न पाउँदा खुसी लागेको बताए ।
फिल्मको कथावस्तु एकदमै अब्बल रहेको बताउँदै उनले निर्माण पक्षलाई धन्यवाद समेत दिए ।
‘आना र म एउटै फिल्ममा स्क्रिन सेयर गर्नको लागि धेरै वर्ष कुर्नु पर्यो । हाम्रो पहिलादेखि नै कुरा हुन्थ्यो एउटै स्क्रिनमा हामी सुहाउँछै भन्ने कुरा तर अहिले आएर सँगै काम गर्न पाउँदा खुसी लागेको छ । जुन कथावस्तु लिएर यो चलचित्र बनेको छ यस्तो लागि म निर्माण पक्षलाई धन्यवाद दिन चाहान्छु ,’उनले भने ।
सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्म आउँदो भ्यालेन्टाइन अर्थात् माघ २३ मा सार्वजनिक हुँदैछ । फिल्मका निर्माता सागर लम्साल हुन् ।
