काठमाडौं । निरन्तर दोस्रो दिन पनि सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागको समायोजनसँगै मूल्य घट्दा खरिदकर्ताका लागि बजार केही सहज बन्दै गएको देखिन्छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेर ३ लाख रुपैयाँमा झरेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि शुक्रबार मात्रै सुनको मूल्य एकैदिन २० हजार ५०० रुपैयाँले घटेको थियो।
यसरी हेर्दा पछिल्ला दुई दिनमा सुनको मूल्य कुल ३९ हजार ३०० रुपैयाँले घटेको छ, जुन हालसम्मकै ठूलो दुईदिने गिरावटमध्ये एक मानिएको छ।
चाँदीको बजारमा पनि उस्तै प्रवृत्ति देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेर ५ हजार ५०० रुपैयाँमा झरेको छ। गत शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।
