काठमाडौं । राइडर र यात्रु दुवैको सुरक्षा र भरोसालाई प्राथमिकतामा राख्दै राइड–सेयरिङ कम्पनी पठाओले अत्याधुनिक प्रविधि, तत्काल प्रतिक्रिया प्रणाली र बीमामा आधारित सुरक्षात्मक व्यवस्थामार्फत आफ्नो सेवालाई अझ जिम्मेवार र सुरक्षित बनाउँदै लगेको छ।
दुर्घटना, आपत्कालीन अवस्था तथा दैनिक गुनासोलाई प्रभावकारी रूपमा सम्बोधन गर्न पठाओले क्विक रेस्पोन्स टिम (क्यूआरटी), २४सै घण्टा कल सेन्टर, मोनिटरिङ प्रणाली तथा आय–सुरक्षा कार्यक्रम लागू गर्दै आएको छ। क्यूआरटीले दुर्घटना, विवाद, शङ्कास्पद गतिविधि वा आपत्कालीन सूचनामा तत्काल छानबिन गरी समस्या समाधान गर्ने व्यवस्था गरेको छ।
यात्रु र राइडर दुवैको सुरक्षालाई सुनिश्चित गर्न पठाओ एपमा लाइभ लोकेसन सेयर, इमर्जेन्सी कल जस्ता विशेष सुरक्षा फिचरहरू उपलब्ध गराइएको छ। सेवा गुणस्तर कायम राख्न अनिवार्य अनलाइन प्रशिक्षण, परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था र प्रत्यक्ष भेरिफिकेशन प्रक्रिया निरन्तर रूपमा लागू गरिएको कम्पनीले जनाएको छ।
दुर्घटनाका कारण काम गर्न नसक्ने अवस्थामा पनि आम्दानीमा असर नपरोस् भन्ने उद्देश्यले पठाओले ‘पठाओ बेनिफिट प्रोग्राम’ अन्तर्गत आय–सुरक्षा योजना सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत श्रेणीअनुसार रु. १०,००० देखि ३०,००० सम्मको बेड–रेस्ट भत्ता प्रदान गरिन्छ। साथै, दुर्घटनाको अवस्थामा अधिकतम रु. १० लाखसम्मको बीमा सुरक्षा र उपचारका लागि रु. १ लाखसम्मको मेडिकल बीमा सुविधा उपलब्ध गराइएको छ। नेपालमा राइड–सेयरिङ क्षेत्रमा यस्तो बीमा सुविधा प्रदान गर्नेमा पठाओ पहिलो कम्पनी हो।
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कम्प्लेन रिसोलुसन टिम गठन गरिएको छ। यात्रु तथा राइडरले प्रत्यक्ष रूपमा समस्या राख्न सक्ने वाक–इन सपोर्ट सेवामार्फत कागजात अपडेट, व्यवहारसम्बन्धी गुनासो, सेवा विवरण र प्रशिक्षणसम्बन्धी सहयोग प्रदान गरिँदै आएको छ।
पठाओ नेपालकी निर्देशक सुरक्षा हमालका अनुसार यात्रुलाई निरन्तर सुरक्षित महसुस गराउने उद्देश्यले कम्पनीले आफ्नो सेवा प्रणालीलाई निरन्तर सुदृढ बनाउँदै आएको छ।
‘यात्राका क्रममा देखिने आपत्कालीन अवस्थादेखि दैनिक गुनासोलाई सम्बोधन गर्न २४सै घण्टा कल सेन्टर सेवाले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भनिन्। उनले थपिन्, ‘पठाओका लागि सेवा सञ्चालन मात्र पर्याप्त होइन, राइडर र यात्रु दुवैको सुरक्षालाई व्यवहारिक रूपमा सुनिश्चित गर्नु र आवश्यक पर्दा साथ दिनु हाम्रो जिम्मेवारी हो।’
