काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्म आइपुग्दा आफ्नो खुद ब्याज आम्दानीमा समग्र रूपमा सुधार देखाएका छन्। बैंकहरूले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर ९६ अर्ब ५ करोड १७ लाख ५२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसै अवधिमा यस्तो आम्दानी ९२ अर्ब ६० करोड ७३ लाख ६९ हजार रुपैयाँ रहेको थियो।
खुद ब्याज आम्दानीका आधारमा नबिल बैंकले आफ्नो अग्रता कायम राखेको छ। नबिल बैंकले पुस मसान्तसम्म ८ अर्ब ८ करोड ७२ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको तुलनामा २.४२ प्रतिशत ले बढेको हो।
दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ८ अर्ब २ करोड २३ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यद्यपि अघिल्लो वर्षको तुलनामा यस बैंकको आम्दानी ३.३३ प्रतिशतले घटेको देखिन्छ। तेस्रो स्थानमा रहेको कुमारी बैंकले ६ अर्ब ७८ करोड ३५ लाख ९ हजार रुपैयाँ आम्दानी गर्दै २७.६५ प्रतिशतको बलियो वृद्धिदर दर्ता गरेको छ।
वृद्धिदरमा राष्ट्रिय वाणिज्य र कुमारी बैंक अगाडि
यस अवधिमा प्रतिशत वृद्धिका आधारमा सबैभन्दा ठूलो फड्को सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मारेको छ। गत वर्ष ४ अर्ब ४० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले चालु वर्ष ३८.४९ प्रतिशत वृद्धि गर्दै ६ अर्ब १० करोड ३३ लाख ६५ हजार रुपैयाँ पुर्याएको छ।
त्यसैगरी, कुमारी बैंक (२७.६५ प्रतिशत), सानिमा बैंक (१९.२६ प्रतिशत) र कृषि विकास बैंक (१६.५५ प्रतिशत) ले पनि औसतभन्दा माथिको वृद्धिदर हासिल गरेका छन्। एनएमबी बैंकको आम्दानी १२.१८ प्रतिशत र नेपाल एसबीआई बैंकको ११.६७ प्रतिशत ले बढेको छ।
६ बैंकको आम्दानी घट्यो
कुल २० बैंकमध्ये १४ वटाको खुद ब्याज आम्दानी बढ्दा ६ वटाको भने घटेको छ। सबैभन्दा धेरै गिरावट एनआईसी एशिया बैंकमा देखिएको छ, जसको आम्दानी १५.८७ प्रतिशतले घटेर ४ अर्ब ३६ करोड ३८ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आम्दानी १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड रुपैयाँ, हिमालयन बैंकको १०.१९ प्रतिशतले घटेर ४ अर्ब ७० करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९.१३ प्रतिशतले घटेर १ अर्ब ९७ करोड रुपैयाँ, नेपाल बैंकको ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंकको आम्दानी पनि ३.३३ प्रतिशतले घटेको छ।
स्थिर वृद्धि गर्ने बैंकहरू
केही बैंकहरूले भने १ देखि ६ प्रतिशतको दायरामा स्थिर वृद्धि हासिल गरेका छन्। लक्ष्मी सनराइज बैंकको आम्दानी १.१४ प्रतिशत, प्रभु बैंकको २.३८ प्रतिशत र सिटिजन्स बैंकको २.२८ प्रतिशत ले बढेको छ।
त्यसैगरी एभरेष्ट बैंक (५.९६ प्रतिशत), प्राइम बैंक (५.३० प्रतिशत), सिद्धार्थ बैंक (५.१५ प्रतिशत) र माछापुच्छ्रे बैंक (४.१६ प्रतिशत) ले पनि खुद ब्याज आम्दानी बढाएका छन्।
सूचीको अन्तिम स्थानमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद ब्याज आम्दानी सबैभन्दा कम १ अर्ब ९७ करोड ४२ लाख १६ हजार रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा ९.१३ प्रतिशतले घटेको हो।
समग्रमा हेर्दा, ठूला र पुराना बैंकहरू आम्दानी जोगाउन संघर्षरत देखिए पनि सरकारी तथा मध्यम स्तरका बैंकहरू बजार हिस्सा विस्तार गर्दै खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार गर्न सफल भएका छन्, जसले बैंकिङ क्षेत्रमा सकारात्मक संकेत दिएको छ।
