चन्द्रप्रसाद ढकालः राजनीतिक दलले आफ्ना आर्थिक एजेन्डा प्राथमिकतामा राख्नुपर्छ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलले आफ्ना आर्थिक एजेन्डा स्थापित गर्नुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

ढकालका अनुसार, हाल राजनीतिक दलहरूले प्रायः एक अर्कालाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति अपनाउँदै आएका छन् र आफ्नै एजेन्डा प्राथमिकतामा राख्ने प्रयास कम देखिएको छ। उनले भने,

“राजनीतिक दलका नेताले अर्को दललाई नराम्रो देखाउने प्रचलन छ। आफ्ना एजेन्डा स्थापित गर्नतर्फ कोही लाग्दैनन्।”

अध्यक्ष ढकालले निजी क्षेत्रप्रति राजनीतिक दलको नकारात्मक धारणा पनि चुनौती भएको बताए। उनले उदाहरण दिँदै भने,

“निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिका नेतृत्व र दलबाट हुन सकेको छैन। रोजगारी सृजना, कर तिरेका कुरा किन चर्चा हुँदैन?”

उनले मन्त्रालयहरूबीच समन्वयको कमी र निर्णयमा लोकप्रियता खोज्ने प्रवृत्ति बढ्दा राज्यको दीर्घकालीन हितमा असर पुगेको पनि बताए। ढकालका अनुसार, यदि निजी क्षेत्रलाई राज्यले प्रोत्साहन र संरक्षण नगरे, भने अर्थतन्त्रलाई चलायमान बनाइराख्न कठिन हुनेछ।