उपाध्यायको सुझाव: घोषणापत्रमा व्यापार र निर्यात प्राथमिकतामा राख्नुपर्छ

काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका सचिव तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले राजनीतिक दलहरूले देशमा देखिएको निराशा चिर्ने र व्यापारलाई प्राथमिकता दिने घोषणापत्र ल्याउनुपर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा उपाध्यायले चीन र भारतको जनसंख्याले खपत गर्ने सेवा र वस्तु उत्पादन गरी निर्यात गर्ने योजना घोषणापत्रमा समेटिनुपर्ने सुझाए।

उपाध्यायले भने,

“पाँच करोड ८० लाख निक्षेप खाता छन्, यसमा दोहोरिएका पनि हुन सक्छन्। यी निक्षेपकर्ताको निक्षेपमा असर पुग्ने गतिविधि हुन हुँदैन। बैंकिङ क्षेत्रलाई सुरक्षित बनाउनु सबैको प्राथमिकता हुनुपर्छ। भारत र चीनमा आफ्ना वस्तु बेच्ने योजना पार्टीका घोषणा पत्रमा समावेश गर्नुपर्छ।”

उनले व्यापार र आर्थिक सुरक्षालाई देशको प्राथमिकता बनाउनुपर्नेमा जोड दिँदै निजी क्षेत्र र बैंकिङ क्षेत्रको स्थिरता सुनिश्चित गर्न राजनीतिक दललाई आग्रह गरे।

उपाध्यायको सुझाव अनुसार, व्यापार र निर्यात केन्द्रित घोषणापत्रले आर्थिक विकासमा गति थप्ने र नागरिकमा आशा जगाउने कार्य गर्ने अपेक्षा गरिएको छ।