विद्यालयलाई जर्सी हस्तान्तरण

नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले मोरङको गोहीगाडास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीका लागि खेलकुद सामग्री सहयोग गरेको छ।

विराटनगरस्थित परिसंघको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा परिसंघले सामाग्री विद्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरेको हो। परिसंघका महानिर्देशक विजयहरि शर्माका अनुसार सामाजिक उत्तरदायित्व अनुसार परिसंघले विद्यालयलाई जर्सी लगायत सामाग्री उपलब्ध गराएको हो।

महानिर्देशक शर्माले विद्यालयमा अध्ययनरत सीमित, विपन्न तथा असहाय वर्गका विद्यार्थीलाई लक्षित गर्दै ३० सेट फरक–फरक रङका जर्सी तथा प्रशिक्षकका लागि ट्र्याकसुटसहित ३१ सेट सामग्री विद्यालयका प्रतिनिधिलाई दिइएको जनाए।

सोही क्रममा परिसंघका अध्यक्ष पवनकुमार सारडाले विद्यालयतर्फबाट खेलकुद सामग्री सहयोगको अनुरोध आएपछि परिसंघले सामग्री जुटाएर औपचारिक रूपमा हस्तान्तरण गरेको जानकारी दिए।

अध्यक्ष सारडाले भविष्य बोकेका बालबालिकाको मनोबल उच्च राख्ने उद्देश्यले सामाग्री उपलब्ध गराइएको बताए।