काठमाडौँ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवालाई व्यवस्थित र सुरक्षित बनाउन नयाँ नियम लागू गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ‘प्रदेशस्तरीय राइड सेयरिङ नियमावली, २०८२’ जारी गर्दै यातायात कार्यालयबाट अनुमति प्राप्त निजी दुई पाङ्ग्रे तथा पाँच सिट क्षमताका चार पाङ्ग्रे सवारी साधनले मात्र अनलाइन प्रणालीमार्फत राइड सेयरिङ सेवा दिन पाउने व्यवस्था गरेको छ।
नयाँ नियमअनुसार सेवाको दूरीसमेत तोकिएको छ। दुई पाङ्ग्रे सवारीले एक पटकमा अधिकतम २० किलोमिटर र चार पाङ्ग्रे सवारीले अधिकतम ५० किलोमिटरसम्म यात्रु बोक्न पाउनेछन्। यसले सेवा सञ्चालनलाई स्पष्ट मापदण्डमा राख्दै यात्रुको सुरक्षालाई प्राथमिकता दिने सरकारको उद्देश्य रहेको छ।
राइड सेयरिङमा प्रयोग हुने सवारी साधनको पहिचानका लागि विशेष लोगो अनिवार्य गरिएको छ। सवारी साधनमा रातो रङको अंग्रेजी अक्षर ‘एसडी’ लेखिएको वृत्ताकार चिन्ह टाँस्नुपर्ने व्यवस्था गरिएको छ, जसले सेल्फ ड्राइभ तथा राइड सेयरिङ सेवामा प्रयोग हुने सवारी साधनको स्पष्ट पहिचान गर्न सहयोग गर्नेछ।
प्रदेश सरकारले यस नियमावलीमार्फत राइड सेयरिङ सेवालाई कानुनी दायरामा ल्याई सेवा प्रदायक र यात्रु दुवैका लागि सुरक्षित, व्यवस्थित र पारदर्शी सेवा सुनिश्चित गर्ने अपेक्षा गरेको छ।
