गार्डियन माइक्रो लाइफको नाफा उकालो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था उल्लेख्य रूपमा सुधारिएको छ। कम्पनीले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा १ करोड ३२ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो नाफा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १४.४१ प्रतिशतले बढी हो। गत वर्ष पुस मसान्तसम्म कम्पनीले १ करोड १५ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि देखिएको छ। पुस मसान्तसम्म कम्पनीले २३ करोड ५३ लाख ४७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९८.१९ प्रतिशतले बढी हो। गत वर्ष यसै अवधिमा खुद बीमाशुल्क आर्जन ११ करोड ८७ लाख ५० हजार रुपैयाँ रहेको थियो।

त्यसैगरी, कम्पनीको कुल बीमाशुल्क आर्जन ११९.१२ प्रतिशतले बढेर २७ करोड ५० लाख ७२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष पुस मसान्तसम्म यस्तो आर्जन १२ करोड ५५ लाख १२ हजार रुपैयाँ मात्र थियो।

जीवन बीमा कोषको आकारमा पनि ठूलो विस्तार देखिएको छ। गत वर्ष पुससम्म ८ करोड ६२ लाख ४२ हजार रुपैयाँ रहेको जीवन बीमा कोष चालु वर्षको सोही अवधिमा ३५३ प्रतिशतभन्दा बढीले बढेर ३९ करोड १० लाख ४३ हजार रुपैयाँ पुगेको छ।

७५ करोड रुपैयाँ चुक्ता शेयर पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३९ लाख १० हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २ करोड ७६ लाख ८२ हजार रुपैयाँ तथा अन्य इक्विटीमा २ करोड २ लाख ७ हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) ३ रुपैयाँ ५३ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ २३ पैसा रहेको छ। समग्रमा, नाफा, बीमाशुल्क र जीवन बीमा कोषमा भएको वृद्धि कम्पनीको वित्तीय सुदृढता मजबुत बन्दै गएको संकेत मानिएको छ।