काठमाडाैं । आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले तनहुँ जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन्।
माघ २० गते जिल्लामा पुगेका अर्थमन्त्री खनालले निर्वाचन तयारीका विविध पक्षबारे जानकारी लिँदै सुरक्षा, प्रशासन र निर्वाचन संयन्त्रको अवस्था नजिकबाट अवलोकन गरेका हुन्। अनुगमनका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखबाट निर्वाचन सुरक्षा व्यवस्था, तयारीको प्रगति र आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिए।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले हालसम्म तनहुँ जिल्लामा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी कुनै पनि उजुरी नपरेको जानकारी गराए। साथै, जिल्लाका ८ वटा मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको र त्यहाँ विशेष सुरक्षा व्यवस्था मिलाइने जानकारी पनि उनले अर्थमन्त्रीलाई दिए।
अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको अवस्थाबारे जानकारी लिएका थिए। सो क्रममा मुख्य निर्वाचन अधिकृत विष्णु उपाध्याय, निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत भेषराज पौडेल तथा जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले हालसम्मको तयारी, मतदाता व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे विस्तृत जानकारी गराएका थिए।
अनुगमनपछि प्रतिक्रिया दिँदै अर्थमन्त्री खनालले तनहुँमा निर्वाचनको तयारी सन्तोषजनक रूपमा अगाडि बढिरहेको बताए। उनले निर्वाचन कार्यालय, स्थानीय प्रशासन र सबै सुरक्षा संयन्त्रहरू उच्च मनोबलका साथ स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन प्रतिबद्ध रहेको उल्लेख गरे।
मन्त्री खनालले स्वच्छ प्रतिस्पर्धा र लोकतान्त्रिक वातावरण निर्माणमा राजनीतिक दलहरूले देखाएको सक्रियता र सहकार्यप्रति आभार व्यक्त गर्दै आगामी निर्वाचन शान्तिपूर्ण र विश्वासयोग्य हुने विश्वास व्यक्त गरे।
