काठमाडौं । समग्र निर्माण उद्योगको प्रवर्द्धनका लागि आयोजना गरिएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको ११ औँ संस्करण बिहीबारदेखि २५ माघसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गर्न लागेको यो प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्य राखेको छ। प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामग्री र प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने साथै विदेशी नवीनतम प्रविधि, सेवा र वस्तु नेपालमा भित्र्याउने अवसर पनि प्रदान गरिने आयोजकले बताएका छन्।
प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका र झ्यालका सामग्री तथा सेवाहरू उपलब्ध हुनेछन्।
साथै फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, फिटिंग्स, कन्स्ट्रक्सन केमिकल, पीभीसी/युपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिललगायतका निर्माणजन्य सामग्री पनि प्रदर्शनीमा प्रस्तुत हुनेछन्।
निर्माण क्षेत्रमा आबद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक र सेवाप्रदायकसमेत यस प्रदर्शनीको सहभागी हुने अपेक्षा गरिएको छ, जसले सम्पूर्ण निर्माण क्षेत्रलाई एकै ठाँउमा देखिने अवसर प्रदान गर्नेछ।
