काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको माघ २० गते बसेको १३२ औँ सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।
कम्पनीले हालको चुक्ता पुँजी ५३ करोड ५० लाख रुपैयाँको आधारमा २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यस अनुसार कम्पनीले १० करोड ७० लाख रुपैयाँ बराबरको बोनस शेयर शेयरधनीहरूलाई बाँड्नेछ। बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ५६ लाख २७ हजार ९७७ रुपैयाँ नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ।
त्यसैगरी, बोनस शेयर वितरणपछि कायम हुने पुँजीमा १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत गरिएको छ।
प्रस्तावित लाभांश नियामक निकाय विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी ११ औँ वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले पाउनेछन्।
सुपरमाई हाइड्रोपावरको आयोजना इलाम जिल्लामा अवस्थित छ र यसको क्षमता ७.८ मेगावाट रहेको छ।
