प्रधानमन्त्री कार्कीः निर्वाचन समयमै, सुरक्षित र शान्तिपूर्ण हुनेछ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तोकिएको समयमा सम्पन्न हुने स्पष्ट पारेकी छिन्। उनले सरकार निर्वाचन गर्न दृढ रहेको र आवश्यक परे दोस्रो चरणमा पनि निर्वाचन सम्पन्न गराउने बताइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “सरकारले जसरी पनि निर्वाचन गराउँछ। कहीं रोकियो भने दोस्रो चरणमा गरिन्छ। हिमाली जिल्लामा चिसो र सवारी साधनको समस्या भएपनि मानिस ओसारेर भए पनि निर्वाचन गराइन्छ। निर्वाचन जसरी पनि हुने छ। नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण हुनेछ।”

उनले यस निर्वाचनमा करिव ३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको जानकारी दिइन्। उनले थपिन्, “३१–३२ अर्ब खर्च भइरहेको छ, विभिन्न देशबाट सहयोग भइरहेको छ। जनताले मत दिने, नयाँ प्रतिनिधि आउने, र देश चलाउने प्रक्रिया जारी रहन्छ। निर्वाचन सर्दैन।”

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र सुरक्षित निर्वाचन गराउन सरकार पूर्ण रूपमा शतर्क र गम्भीर रहेको बताएकी छन्।

–न्युज एजेन्सी नेपाल