काठमाडौं । देशका ठूला अस्पतालहरूले स्वास्थ्य बीमा सेवा भुक्तानी अभावका कारण रोक्ने चेतावनी दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले यस विषयमा गम्भीर चासो व्यक्त गरेकी छन्। उनी स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या र चुनौतीबारे छलफल गर्न बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला पक्षहरूको आकस्मिक बैठक बोलाएकी छिन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो साढे १ बजे बस्नेछ। पछिल्लो समय बजेट अभावका कारण बीमा गरेका बिरामीहरूले उपचार सुविधा पाउन कठिनाइ भोगिरहेका छन्। विशेष गरी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा बोर्डबाट ४० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको भन्दै सेवा दिन नसक्ने सूचना जारी गरेपछि यो संकट सतहमा आएको हो। अन्य ठूला अस्पतालहरूले पनि उस्तै समस्या देखाउँदै सेवा रोक्ने चेतावनी दिँदै आएका छन्।
यसैबीच, बढ्दो वित्तीय दबाबलाई मध्यनजर गर्दै स्वास्थ्य बीमा बोर्डले गत सोमबार सूचना जारी गरी आगामी फागुन १ गतेदेखि बहिरङ्ग (ओपिडी) सेवामा एक आर्थिक वर्षमा अधिकतम २५ हजार रुपैयाँसम्मको मात्र उपचार सुविधा उपलब्ध गराइने जनाएको छ।
प्रधानमन्त्रीको यो आकस्मिक बैठकले स्वास्थ्य बीमा प्रणाली सुधार र अस्पताल–बोर्डबीच समन्वय सुदृढ पार्ने दिशामा कदम चाल्ने अपेक्षा गरिएको छ।
