काठमाडौँ । भारतीय सांस्कृतिक संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का निष्ठावान कार्यकर्ता र भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता ६२ वर्षीय युमनम खेमचन्द सिंह मंगलबार मणिपुर राज्यमा भाजपा विधानमण्डल दलको नेता चुनिएका छन्।
जातीय हिंसाले थलिएको यस उत्तर–पूर्वी राज्यमा पुन: निर्वाचित सरकार बहाली गर्ने दिशामा खेमचन्दको यो पदोन्नति महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। मणिपुर आगामी फेब्रुअरीमा राष्ट्रपति शासनको एक वर्ष पूरा गर्दैछ। सन् २०२३ मे ३ मा मेइतेई र कुकी समुदायबीच भड्किएको हिंसामा हालसम्म २५० भन्दा बढीले ज्यान गुमाएका छन् भने ६०,००० भन्दा बढी मानिस विस्थापित भएका छन्।
भाजपा संसदीय बोर्डको निर्णयअनुसार सोमबार पार्टीका राष्ट्रिय महासचिव तरुण चुघ विधानमण्डल दलको नेता चयनका लागि केन्द्रीय पर्यवेक्षक नियुक्त थिए। खेमचन्द निर्वाचित भएलगत्तै भाजपा मणिपुरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बधाई दिँदै लेखेको छ,
“माननीय श्री युमनम खेमचन्द सिंहज्यू, मणिपुर भाजपा विधानमण्डल दलको नेतामा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई। तपाईंको अनुभव, समर्पण र नेतृत्वले पार्टीलाई थप मजबुत बनाउनेछ र मणिपुरका जनताका आकाङ्क्षाहरू पूरा गर्न सफल हुनेछ भन्नेमा हामी विश्वस्त छौँ।”
खेमचन्द मेइतेई समुदायका विरलै नेताहरूमा गनिन्छन्, जसप्रति कुकी समुदायका केही तप्काले पनि विश्वास राख्दछन्। हिंसापछि, सन् २०२५ डिसेम्बरमा उनी कुकी गाउँहरूको भ्रमण गर्ने पहिलो मेइतेई विधायक थिए। यस क्रममा उनले उखरुल र कामजोङ जिल्लाका लिटान र चासाड गाउँमा स्थानीय बासिन्दासँग सम्वाद गर्दै समुदायबीच एकताको सेतु बन्ने प्रयास गरेका थिए।
