काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार दिने ‘मिड-इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ उत्साहजनक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ । माघ १७ देखि २० गतेसम्म सञ्चालन भएको सम्मेलन अन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो भने सहभागीलाई दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक र शैलुङ भ्रमण गराई टोलीभाव, प्रेरणा र ताजगी अभिवृद्धि गरिएको कम्पनीले जनाएको छ ।
सम्मेलनमा कम्पनीको मध्यावधि व्यवसायिक प्रगतिको समीक्षा गर्दै आगामी लक्ष्य हासिल गर्न आवश्यक रणनीतिबारे छलफल गरिएको थियो । कार्यक्रममा व्यवस्थापन टिम, विभाग प्रमुख तथा देशभरका शाखा व्यवस्थापक गरी ७७ जनाको सहभागिता रहेको थियो । चालु आर्थिक वर्षको मध्यावधिसम्म १०० प्रतिशत लक्ष्य हासिल गर्न सफल ४८ जना शाखा व्यवस्थापकलाई सम्मान गरिनु सम्मेलनको मुख्य आकर्षण रह्यो।
यस अवसरमा कम्पनीका सेवाहरूलाई अझ ग्राहक–केन्द्रित, प्रविधिमैत्री र सरल बनाउने विषयमा समेत छलफल गरिएको छ । सिटिजन लाइफले डिजिटल सेवा विस्तार, नियामकीय पालना र सुशासनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि व्यवसायिक लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
