काठमाडौं । फिल्म क्रू नेपाल प्रालिबाट भाडामा क्यामेरा लगेका एक व्यक्ति फरार भएका छन् । समित बज्राचार्य नाम गरेका ती व्यक्तिले फिल्म क्रू नेपालसँग भाडामा लिने सम्झौता गरी क्यामेरा तथा अन्य सामग्री लगेर हालसम्म फिर्ता नगरेको कम्पनीको भनाइ छ ।
फिल्म क्रू नेपालका अनुसार बज्राचार्यले ए–सेभेन फोर क्यामेरा, जसको बजार मूल्य करिब २ लाख ८२ हजार रुपैयाँ पर्छ, साथै लेन्स र मेमोरी कार्डसमेत गरी करिब ५ लाख रुपैयाँ बराबरको सामग्री लिएर फरार भएका हुन् ।
उक्त सामग्री पुस २७ गते भाडामा लिने उद्देश्यले लगिएको भए पनि हालसम्म फिर्ता नभएको र सम्पर्कविहीन रहेको फिल्म क्रू नेपालले जनाएको छ । यस विषयमा बुझ्न खोज्दा बज्राचार्यसँग सम्पर्क हुन सकेन, उनको मोबाइल फोन बन्द रहेको छ। उनले आफू कलंकी क्षेत्रमा बसोबास गर्ने बताएका थिए ।
फिल्म क्रू नेपालले क्यामेरा तथा फिल्म निर्माणसँग सम्बन्धित सामग्रीहरू भाडामा दिने सेवा सञ्चालन गर्दै आएको छ । सम्झौता अनुसार सामग्री नफर्काइ फरार भएको भन्दै सम्बन्धित निकायमा जानकारी गराउने तयारी भइरहेको समेत फिल्म क्रू नेपालले जनाएको छ । फिल्म क्रु नेपाल नेपालको सबैभन्दा ठूलो लाइन प्रोडक्सन र फिल्म प्रोडक्सन कम्पनी हो । यसले नेपाली तथा विशेष गरी विदेशी फिल्म निर्माताहरूलाई सामग्री उपलब्ध गराउँदै आएको छ ।
