पञ्चकन्या माईको दोस्रो त्रैमासमा नाफाको फड्को

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले उल्लेख्य नाफा वृद्धि गर्दै सकारात्मक वित्तीय प्रगति देखाएको छ। कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९५.७४ प्रतिशतले बढेको हो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यही अवधिमा कम्पनीको खुद नाफा २ करोड ८३ लाख रुपैयाँ मात्र थियो। विद्युत् बिक्रीबाट हुने आम्दानीमा भएको उल्लेख्य वृद्धिका कारण नाफामा उत्साहजनक सुधार देखिएको कम्पनीले जनाएको छ।

नाफा वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि आकर्षक रूपमा सुधारिएको छ। गत वर्ष ५ रुपैयाँ १६ पैसा रहेको वार्षिक प्रतिशेयर आम्दानी यस त्रैमासमा बढेर १५ रुपैयाँ २६ पैसा पुगेको छ। हाल कम्पनीको प्रतिशेयर नेटवर्थ ८४ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात २०.८९ गुणा कायम भएको छ।

सञ्चालन आम्दानीतर्फ पनि कम्पनीले उल्लेख्य वृद्धि गरेको छ। गत वर्षको पुस मसान्तसम्म १८ करोड ९९ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष २०.८८ प्रतिशतले बढेर २२ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीले खर्च व्यवस्थापनमा पनि सुधार गरेको देखिन्छ। गत वर्ष १३ करोड ५५ लाख रुपैयाँ रहेको प्रशासनिक तथा अन्य खर्च घटेर चालु वर्षको सोही अवधिमा ११ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ।

१ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको जगेडा कोष भने अझै १६ करोड ५५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। तथापि, आम्दानी र नाफामा देखिएको सुधारले कम्पनीको वित्तीय अवस्था क्रमशः सबल बन्दै गएको संकेत गरेको छ।