बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पछिल्लो एक महिनामा ८० करोड ८ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा कुल ३ अर्ब २७ करोड ९२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड ८६ लाख १० हजार रुपैयाँले बढी हो।
कार्यालयले दिएको विवरणअनुसार चालु आवको पहिलो छ महिनामा अन्तःशुल्कतर्फ सबैभन्दा धेरै १ अर्ब ८८ करोड ६४ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ। यस्तै, आयकरतर्फ ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ २७ करोड ७३ लाख २ हजार, ब्याजकरतर्फ ३ करोड ६९ लाख ४७ हजार र बहालकरतर्फ ८१ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा हेटौँडा आन्तरिक राजस्व कार्यालयले ३ अर्ब १९ करोड ६ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
हाल उक्त कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धि करतर्फ ५ हजार ८४९, अन्तःशुल्कतर्फ १ हजार ५९८, विथहोल्डिङतर्फ ७११ तथा व्यक्तिगततर्फ ८१ हजार ८१२ करदाता सूचीकृत रहेको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार कर दाखिला गर्न आनाकानी गर्ने करदातालाई लक्षित गर्दै घरदैलो अनुगमन, टेलिफोन तथा एसएमएसमार्फत ताकेता, कर छुट तथा सुविधासम्बन्धी जानकारी प्रवाहजस्ता अभियान सञ्चालन गरिएको छ। यस्ता प्रयासमार्फत हालसम्म करिब १० करोड रुपैयाँ बक्यौता असुली भएको उनले जानकारी दिए।
