तरलता सन्तुलनमा राष्ट्र बैंक सक्रिय, ५० अर्ब तानिँदै

काठमाडौँ । बैंकिङ प्रणालीमा बढ्दै गएको अधिक तरलतालाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै ४२ दिनका लागि यो रकम बजारबाट तान्न लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार माघ २५ गते दिउँसो २ बजेभित्र अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। यसमा सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले प्रस्ताव गर्ने ब्याजदरका आधारमा बोलकबोल गर्नुपर्नेछ भने बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप दिन चाहने संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।

राष्ट्र बैंकका अनुसार संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी २०८२ चैत ८ गते गरिनेछ। बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखी बाँडफाँड गरिने व्यवस्था छ।

केन्द्रीय बैंकले नियमित रूपमा यस्ता उपकरण प्रयोग गरी बजारमा रहेको तरलता सन्तुलनमा राख्दै मौद्रिक स्थिरता कायम गर्न सक्रिय भूमिका खेल्दै आएको छ। यस कदमले बैंकिङ प्रणालीलाई थप सन्तुलित र स्थिर बनाउने अपेक्षा गरिएको छ।