खोटाङ । उदयपुर र खोटाङलाई जोड्ने सुनकोशी नदीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ। खोटाङको दक्षिणी क्षेत्र बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ को सिमानामा पर्ने उक्त स्थानमा जडान गरिएको बेलिब्रिज शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।
गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको यो अस्थायी बेलिब्रिज आगामी २०८३ साल जेठ महिनाको पहिलो सातासम्म सञ्चालन गर्ने सहमति भएको छ। कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको यस बेलिब्रिजको लम्बाइ ५१.८१ मिटर रहेको छ।
बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले १ करोड ८७ लाख रुपैयाँमा खरिद गरी पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेको थियो। त्यसपछि सो सामग्री निर्माण कम्पनीलाई उपलब्ध गराइएको पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए।
यसअघि लामो समयदेखि झोलुङ्गे पुलको भरमा जोखिमपूर्ण आवतजावत गर्दै आएका खोटाङको दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा अस्थायी भए पनि बेलिब्रिज सञ्चालनमा आएपछि निकै उत्साहित भएका छन्। बेलिब्रिज सञ्चालनसँगै दुई जिल्लाबीचको यातायात, सेवा–सुविधा र व्यापारिक गतिविधि थप सहज हुने अपेक्षा गरिएको छ।
