घोराही सिमेन्टको वित्तीय सुधार, नोक्सानीमा उल्लेख्य कटौती

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो वित्तीय अवस्थामा उल्लेखनीय सुधार आएको जनाएको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको तुलनामा खुद नोक्सानी उल्लेख्य रूपमा घटाउन सफल भएको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म ६६ करोड ७१ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष सो नोक्सानी घटाएर २६ करोड ४९ लाख रुपैयाँमा सीमित गरेको छ। सञ्चालन आम्दानीमा भएको वृद्धि र खर्च व्यवस्थापनमा अपनाइएको सुधारात्मक रणनीतिका कारण नोक्सानी घटेको कम्पनीको भनाइ छ।

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी उत्साहजनक रूपमा बढेको छ। गत वर्ष १ अर्ब ७३ करोड १९ लाख रुपैयाँ रहेको आम्दानी चालु वर्षको सोही अवधिमा २०.१९ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ८ करोड १५ लाख रुपैयाँ पुगेको छ।

आम्दानी बढेसँगै कुल नाफामा पनि ठूलो सुधार देखिएको छ। गत वर्ष ११ करोड ७४ लाख रुपैयाँ रहेको कुल नाफा यस वर्ष बढेर ३० करोड ५४ लाख रुपैयाँ पुगेको छ। साथै, वित्तीय लागत ४८ करोड ७ लाख रुपैयाँबाट घटेर ३३ करोड ७७ लाख रुपैयाँमा झर्नुले कम्पनीको वित्तीय संरचना क्रमशः सुदृढ बन्दै गएको संकेत गरेको छ।

यद्यपि, केही वित्तीय सूचकहरूमा भने अझै दबाब देखिएको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ २७ पैसा ऋणात्मक रहेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ५८ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३६ रुपैयाँ ०८ पैसा कायम भएको छ। हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६८ करोड ७० लाख रुपैयाँ सञ्चित रहेको विवरणमा उल्लेख छ।

व्यवस्थापनको विश्लेषण अनुसार सिमेन्ट उद्योगमा तीव्र प्रतिस्पर्धा र निर्माण क्षेत्रमा देखिएको सुस्तताका बाबजुद कम्पनीले बिक्री रणनीतिमा सुधार गरी बजार विस्तारमा ध्यान दिएको छ। आगामी दिनमा सरकारका विकास निर्माणका परियोजनाले गति लिने र सिमेन्टको माग बढ्ने अपेक्षासँगै कम्पनीको वित्तीय अवस्था थप सुदृढ हुने विश्वास व्यवस्थापनले व्यक्त गरेको छ।