काठमाडाैं । कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (क्युसीसीआई) को एक उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बरबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (जेबीसी) सम्बन्धी छलफलका लागि काठमाडौँ आइपुगेको छ। यस भ्रमणलाई नेपाल–कतार आर्थिक सहकार्यलाई थप संस्थागत र परिणाममुखी बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता सन् २०२४ अप्रिलमा कतार राज्यका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो। उक्त सम्झौताले दुई देशबीच निजी क्षेत्रको सहकार्यलाई औपचारिक र सुदृढ बनाउने आधार तयार गरेको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको निमन्त्रणामा काठमाडौँ आएको कतारी प्रतिनिधिमण्डलको नेतृत्व कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैद्लीले गरेका छन्। प्रतिनिधिमण्डलको माघ २६ र २७ गते (फेब्रुअरी ९ र १०) काठमाडौँमा संयुक्त व्यवसाय परिषद्को बैठक बस्ने कार्यक्रम रहेको छ।
संयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवद्र्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो। काठमाडौँ बसाइँका क्रममा प्रतिनिधिमण्डलले अर्थमन्त्री रमेश्वर प्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा, साथै नेपाल राष्ट्र बैंकका गभर्नर डा. बिश्वनाथ पौडेलसँग उच्चस्तरीय भेटघाट गर्नेछ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त व्यवसाय परिषद्लाई अन्तिम रूप दिई सक्रिय बनाउनु द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवाह प्रोत्साहन तथा दुवै देशका व्यवसायीबीच साझेदारी सुदृढ गर्न अत्यन्त महत्वपूर्ण हुने बताए। उनका अनुसार छलफलहरू परिषद्लाई व्यवहारिक, प्रभावकारी र परिणाममुखी बनाउने तथा सहकार्यका ठोस क्षेत्र पहिचानमा केन्द्रित रहनेछन्।
नेपाल र कतारबीच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध र सशक्त जनस्तरीय सम्पर्क रहँदै आएको छ, जुन पछिल्ला वर्षहरूमा आर्थिक सहकार्यतर्फ थप विस्तार भइरहेको छ। हालैका उच्चस्तरीय द्विपक्षीय भेटघाटहरूले निजी क्षेत्रको सहभागिता बढाउन सकारात्मक वातावरण सिर्जना गरेको महासंघको भनाइ छ।
नेपालमा जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, कृषि–प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा आकर्षक लगानी अवसरहरू रहेको उल्लेख गर्दै महासंघले विदेशी लगानी सहजीकरण र व्यवसाय–देखि–व्यवसाय सम्पर्क प्रवद्र्धनमा निरन्तर प्रतिबद्धता जनाएको छ। यस बैठकका उपलब्धिहरूले आगामी दिनमा नेपाल–कतार आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने र व्यापार तथा लगानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने महासंघको अपेक्षा रहेको छ।
