काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र नाफा दुवैमा उत्साहजनक वृद्धि देखिएको छ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५८ प्रतिशतले बढेर ९१ करोड ४४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्री आम्दानी ७९ करोड ८१ लाख रुपैयाँ रहेको थियो। माउन्टेन इनर्जीले हाल ४२ मेगावाट क्षमताको मिस्ट्री खोला जलविद्युत आयोजना र ५ मेगावाट क्षमताको तादी खोला आयोजनाबाट नियमित रूपमा विद्युत उत्पादन गरिरहेको छ।
यस अवधिमा कम्पनीको खुद नाफा पनि ५.७४ प्रतिशतले वृद्धि भई ५४ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५१ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षाअवधिमा कम्पनीले बीमा दाबीबापत ९ लाख रुपैयाँ प्राप्त गरेको छ भने सञ्चालन मुनाफा ६४ करोड ९६ लाख रुपैयाँ रहेको छ।
वित्तीय खर्चतर्फ हेर्दा कम्पनीको ब्याज खर्च अघिल्लो वर्षको १२ करोड ४० लाख रुपैयाँबाट घटेर ११ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा कम्पनीको करअगाडि नाफा ५५ करोड ५८ लाख रुपैयाँ रहेको छ।
कम्पनीको चुक्ता पुँजी हाल ३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ भने रिजर्भमा १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड रुपैयाँ थियो। आर्थिक वर्ष २०८१/८२ बाट २० प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी वृद्धि भएको हो।
पुँजी २० प्रतिशतले बढेको अवस्थामा पनि कम्पनीले प्रति शेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ३४ पैसा कायम गर्न सफल भएको छ। त्यस्तै, कम्पनीको प्रति शेयर नेटवर्थ १४२ रुपैयाँ ६८ पैसा रहेको छ। वित्तीय सूचकहरूमा देखिएको सुधारले कम्पनीको सञ्चालन क्षमता र दीर्घकालीन सम्भावनालाई सकारात्मक संकेत गरेको विश्लेषकहरूको भनाइ छ।
