सिटिजन लाइफको नाफामा सन्तोषजनक सुधार, बिमा शुल्कमा वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा सन्तोषजनक सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार पहिलो ६ महिनामा कम्पनीले २३ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा नाफा २३ करोड ९ लाख रुपैयाँ रहेको थियो।

साउनदेखि पुस मसान्तसम्म कम्पनीको व्यवसाय विस्तारमा सुधार देखिएको छ। खुद बिमा शुल्क २२.२३ प्रतिशतले वृद्धि भई ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा खुद बिमा शुल्क ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ थियो। लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ६.६६ प्रतिशतले बढेर १ अर्ब १ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको जीवन बिमा कोषमा उल्लेख्य प्रगति भएको छ। अघिल्लो वर्ष १६ अर्ब ८५ करोड रुपैयाँ रहेको कोष ३५.३९ प्रतिशतले वृद्धि भई २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँमा पुगेको छ। यद्यपि रिटेन्ड अर्निङमा ६९.०१ प्रतिशतको गिरावट आएको छ र यो ३५ करोड ६५ लाख रुपैयाँमा सीमित छ। महाविपत्ति जगेडा कोष भने १०.०५ प्रतिशतले बढेर २५ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कुल खर्च २०.०५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७५ करोड २० लाख रुपैयाँ पुगेको छ। अभिकर्तालाई दिइने कमिसन १९.५० प्रतिशतले बढेर ३८ करोड ६ लाख रुपैयाँ पुगेको छ। दाबी भुक्तानीमा भने खासै ठूलो वृद्धि नभई कुल दाबी भुक्तानी ८८ करोड १ लाख रुपैयाँ रहेको छ।

कम्पनीको नाफामा सुधार भए तापनि प्रतिसेयर आम्दानी (ईपीएस) ११.७३ रुपैयाँबाट घटेर ९.२६ रुपैयाँमा झरेको छ। प्रतिसेयर नेटवर्थ १२६.५२ रुपैयाँ रहेको छ। बीमालेखको संख्या पनि घटेको छ; अघिल्लो वर्ष १० लाख ६४ हजार रहेको पोलिसी संख्या यस वर्ष ८ लाख ४६ हजारमा खुम्चिएको छ।