सूर्यज्योति लाइफले संस्थापक सेयर बिक्रीमा राख्यो

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक समूहको २ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीका संस्थापक सेयरधनी भिजे इन्भेष्टमेन्ट कम्पनी प्रालिको नाममा रहेको उक्त सेयर प्रति कित्ता न्यूनतम २०० रुपैयाँमा बिक्री गर्न लागिएको हो।

कम्पनीले जारी गरेको सूचना अनुसार ‘बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ बमोजिम पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरूलाई दिइने भएकोले यो सूचना प्रकाशित गरिएको हो। बिक्रीमा इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिबाट ३५ दिन भित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

आवेदनका लागि इच्छुक सेयरधनीहरूले खरिद गर्न चाहेको सेयर संख्या र दर उल्लेख गरी शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ। आवेदन फारम कम्पनीको सेयर रजिस्ट्रार श्री एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर, थापाथलीमा कार्यालय समयभित्र पेश गर्न सकिनेछ।

कम्पनीले स्पष्ट पारेको छ कि यदि तोकिएको ३५ दिनको समयावधिमा विद्यमान संस्थापक सेयरधनीबाट कुनै आवेदन नआएमा प्रचलित नियम अनुसार अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइनेछ।