काठमाडौँ । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुलाई अनलाइन मार्फत ग्राहक विवरण (केवाइसी) अद्यावधिक गर्ने सुविधा उपलब्ध गराएको छ। कम्पनीको २२औँ वार्षिकोत्सवको अवसरमा सुरु भएको यस सुविधा २०८२ माघ २२ देखि देशभरका सबै कार्यालयबाट उपलब्ध हुने प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिएका छन्।
गत पुस २२ गते सुन्धाराको दूरसञ्चार कार्यालयबाट यसको परीक्षण गरिएको थियो। अब ग्राहकहरुले आफ्नो नाम, ठेगाना वा अन्य विवरणमा सुधार आवश्यक परेमा कस्टमर लगइन पोर्टल https://kyc.ntc.net.np/ मार्फत आवश्यक विवरण भर्न सक्नेछन्। यसका लागि सम्बन्धित मोबाइल नम्बरमा प्राप्त OTP राखेर व्यक्तिगत विवरण तथा आफूले धेरै कल गर्ने ५ वटा मोबाइल नम्बर समेत दर्ता गर्नुपर्नेछ।
सबै विवरण भरेपछि प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न आवश्यक हुन्छ। यसपछि नेपाल टेलिकमको सिस्टमले विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ।
यस नयाँ व्यवस्था मार्फत धेरै ग्राहकले आफ्नो विवरण सजिलै अद्यावधिक गर्न सक्ने र अन्य सरकारी निकायमा पनि आफ्नो विवरण अद्यावधिक राख्न सहज हुने अपेक्षा गरिएको छ।
