काठमाडौंको तापक्रम न्यून, अधिकांश प्रदेशमा आज वर्षाको सम्भावना

सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन आज मंगलबार घटेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस छ।

हिजो सोमबार यो समय उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस थियो।
हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।