निर्वाचन तयारीले गति लियो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्य तीव्र गतिमा अघि बढिरहेको छ। निर्वाचन आयोगका अनुसार ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रका मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, भक्तपुरमा भइरहेको छपाइ कार्यअन्तर्गत सोमबारसम्म कूल १ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। छपाइ सकिएका विभिन्न जिल्लाका मतपत्र प्याकिङ कार्यसमेत पूरा भइसकेको छ।

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र पाँचथरलगायत जिल्लाको मतपत्र छपाइ पूरा भएको छ।

यस्तै इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर र मुस्ताङका मतपत्र पनि छपाइ भइसकेका छन्। लमजुङ, तनहुँ, स्याङ्जा र बर्दियासहित ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ।

छपाइ सम्पन्न भएका मतपत्रहरू सुरक्षित रूपमा प्याकिङ गरी राखिएको छ। हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको सहायक प्रवक्ता जिसीले बताए।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तथा प्रत्यक्ष दुवै निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा छपाइ भइरहेको छ। आयोगका अनुसार मतपत्र छपाइ कार्य गत पुस २२ गतेदेखि सुरु भएको हो।

पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ गत पुस २६ गतेदेखि सुरु गरिएको मतपत्र छपाइ माघ १३ गते दुई करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ, रुजु तथा ढुवानीको तयारी अवस्थामा राखिएको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने कूल दुई करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ। यसतर्फको मतपत्र छपाइ माघ १६ गते बिहानदेखि सुरु भएको हो। आयोगले तोकिएको समयमै सम्पूर्ण मतपत्र छपाइ तथा व्यवस्थापन कार्य सम्पन्न गर्ने तयारी रहेको जनाएको छ।