काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनी यस अवधिमा १७ करोड ८५ लाख ५२ हजार ५४७ रुपैयाँ खुद नोक्सानीमा रहेको देखिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ५० लाख ५ हजार १४५ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस वर्ष नोक्सानी देखिनुको प्रमुख कारण दाबी भुक्तानीमा आएको उल्लेख्य वृद्धि रहेको कम्पनीले जनाएको छ।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमा शुल्क ७४ करोड ६६ लाख ३० हजार २२१ रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.१३ प्रतिशतले कम हो। यद्यपि, कम्पनीको कुल बीमा व्यवसाय सक्रिय नै रहेको देखिन्छ। यस अवधिमा कम्पनीले २ अर्ब १९ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।
पुस मसान्तसम्म कम्पनीको कुल दाबी भुक्तानी १ अर्ब २४ करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १ अर्ब ५ करोड ६ लाख रुपैयाँ मात्र रहेको थियो। विशेषगरी गत भदौ महिनामा भएको ‘जेनजी’ प्रदर्शन तथा असोज महिनामा परेको अविरल वर्षा र बाढीका कारण दाबीमा उल्लेख्य चाप परेको कम्पनीले स्पष्ट पारेको छ।
वित्तीय सूचकांकतर्फ कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १२.७२ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २४१.३४ रुपैयाँ कायम भएको छ। प्रतिशेयर कुल सम्पत्तिको मूल्य ७५९.९० रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्समा ११ करोड ८५ लाख १६ हजार रुपैयाँ सञ्चित रहेको छ। उच्च दाबी भुक्तानीका बाबजुद पनि बलियो पूँजी संरचना र सम्पत्तिको आधार कायम रहनु कम्पनीको सकारात्मक पक्षका रूपमा हेरिएको छ।
