काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजाले बालबालिका, महिला स्वास्थ्य, शिक्षा र डिजिटल पहुँचमा सकारात्मक प्रगतिसँगै अझै सुधारको आवश्यकतालाई देखाएको छ।
सर्वेक्षण अनुसार, नेपालमा प्रति १ हजार जीवित जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको पाइएको छ भने ५ वर्षमुनिका बालबालिकामध्ये मृत्युदर ३१ रहेको छ। नवजात शिशुहरूमध्ये १ महिनाभित्रै १७ जना शिशुको मृत्यु हुने गरेको छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा नवजात तथा ५ वर्षमुनिका बालबालिकाको मृत्यु दर सबैभन्दा बढी देखिएको छ भने वाग्मती र गण्डकी प्रदेशमा सबैभन्दा कम रहेको छ।
सर्वेक्षणले नेपालमा कुल प्रजनन दर प्रतिमहिला १.९ प्रतिशत रहेको देखाएको छ। १५–१९ वर्षका किशोरीहरूमा प्रति १ हजारमा ४८ जना जीवित बच्चा जन्माउने गरेका छन्। २०–२४ वर्ष उमेर समूहमा ११.२ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै बच्चा जन्माएको पाइएको छ।
बाल पोषणमा सुधारको आवश्यकता देखिएको छ। पाँच वर्षमुनिका बालबालिकामध्ये ३१.५ प्रतिशत पुड्कोपन र २४.३ प्रतिशत तौल कमीका समस्या भोगिरहेका छन्। आमाको दूध मात्र ६ महिनासम्म खुवाउने दर ६९.७ प्रतिशत र १२–२३ महिनाका बालबालिकामध्ये ८०.७ प्रतिशतले सबै खोप पूरा गरेका छन्।
शिक्षा र दर्तामा प्रगति देखिएको छ। आधारभुत विद्यालय कक्षा १–५ मा प्रवेश गर्ने उमेरका बालबालिकाहरू ४१.२ प्रतिशत रहेका छन् भने ५ वर्षमुनिका बालबालिकामध्ये ८५.४ प्रतिशतको जन्मदर्ता गरिएको छ।
डिजिटल र आधारभुत पूर्वाधारमा पनि प्रगति देखिएको छ। ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवा पुगेको छ भने ८२ प्रतिशतले इन्टरनेट उपकरण प्रयोग गरेका छन्। टेलिफोन सेवामा पहुँच ९५.५ प्रतिशत रहेको छ।
स्वास्थ्य बीमा र सुर्तीजन्य पदार्थ सेवनको अवस्था पनि प्रतिवेदनमा उल्लेख छ। १५–४९ वर्ष उमेर समूहका महिलामध्ये १७.८ प्रतिशत र पुरुषमा १९.६ प्रतिशतले मात्र स्वास्थ्य बीमा गरेका छन्। ५ वर्षमुनिका बालबालिकामा स्वास्थ्य बीमा ११.७ प्रतिशत मात्र रहेको छ।
यस सर्वेक्षणले संघ, प्रदेश र स्थानीय तहमा नीति निर्माण, महिला तथा बालबालिकाको अवस्था मूल्यांकन र दिगो विकास लक्ष्य (एसडीजी) का सूचकहरूको अनुगमनमा महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ।– न्युज एजेन्सी नेपाल
