काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस अन्तर्गत नेशनल कार्ड स्विचमार्फत नेपालपे कार्ड सञ्चालन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
यस सम्झौतासँगै सिटिजन्स बैंक एनसीएचएलको ईएफटी (इलेक्ट्रोनिक फण्ड ट्रान्सफर) मेम्बरमार्फत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बनेको छ। अब सिटिजन्स बैंकका एटीएम तथा पोओएस टर्मिनलहरूमा नेपालपे कार्डसँगै डिस्कभर, डाइनर्स र पल्स जस्ता अन्तर्राष्ट्रिय कार्डहरू पनि स्वीकार हुनेछन्।
यस पहलपछि बैंकका ग्राहकहरूले चाँडै नै नेपालको आफ्नै कार्ड स्किम ‘नेपालपे कार्ड’ प्रयोग गर्न सक्नेछन्, जसले स्वदेशी डिजिटल भुक्तानी प्रणालीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
यसअघि सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’, तथा फ्रिलान्सर सेविङ्ज अकाउन्ट समेत सञ्चालनमा ल्याइसकेको छ।
त्यसैगरी, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन, सीआरएएन नम्बर सेवा, तथा क्रस बैंक टेलर क्यूआर सुविधा (अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकबाट नगद लिन सक्ने) जस्ता नवीन सेवाहरू उपलब्ध गराउँदै आएको छ।
हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
