काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याएको हो।
कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबर हुने २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ११ लाख ८५ हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै छुट्याइएको थियो।
यस चरणमा कम्पनीले सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर निष्काशन गरेको छ। कुल निष्काशनमध्ये २८ हजार ४४० कित्ता कर्मचारीहरूका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ भने बाँकी शेयर सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आईपीओमा आवेदन दिन चाहनेले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन अवधि फागुन १३ गतेसम्म थपिने कम्पनीले जनाएको छ।
