पाल्पा सिमेन्टको आईपीओ फागुन १२ देखि खुल्दै

काठमाडाैं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आउँदो फागुन १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको छ।

दोस्रो चरणअन्तर्गत कम्पनीले बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन छिटोमा फागुन १५ गते बन्द हुनेछ भने सो अवधिमा माग अनुसार आवेदन नपरेमा ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले कुल जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत, अर्थात् ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सो मध्ये १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै निष्काशन गरिएको थियो।

त्यसैगरी, कुल शेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषहरूका लागि र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँडफाँट गरिएको छ।