मेटलाइफको व्यवसाय विस्तारमा सुधार, नाफामा सानो गिरावट

काठमाडाैं । मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नाफामा सामान्य गिरावट देखिएको छ। साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा कम्पनीले २० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा खुद नाफा २२ करोड २५ लाख रुपैयाँ थियो। यसरी नाफा ८.५६ प्रतिशतले घटेको देखिन्छ।

यद्यपि, कम्पनीको व्यवसाय विस्तारमा सुधार देखिएको छ। समीक्षा अवधिमा खुद बीमा शुल्क १३.१७ प्रतिशतले वृद्धि भई ३ अर्ब १० करोड ९० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम २ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ मात्र थियो।

कम्पनीको जीवन बीमा कोषमा पनि महत्वपूर्ण बढोत्तरी भएको छ। गत वर्ष २७ अर्ब ३२ करोड रुपैयाँ रहेको कोष यस वर्ष ३१ अर्ब ९ करोड ३९ लाख रुपैयाँ पुगेको छ, जसले कम्पनीको आन्तरिक स्रोत व्यवस्थापन र दीर्घकालीन दायित्व वहन गर्ने क्षमता बलियो रहेको देखाउँछ।

नाफामा गिरावट आउनुको मुख्य कारण कुल खर्च र दाबी भुक्तानीमा वृद्धि रहेको छ। यस अवधिमा कुल खर्च १०.२७ प्रतिशतले वृद्धि भई ४ अर्ब १७ करोड ८७ लाख रुपैयाँ, र कुल दाबी भुक्तानी ९.६६ प्रतिशतले वृद्धि भई १ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, अभिकर्ता कमिसनमा १४.२७ प्रतिशतको वृद्धि भई २७ करोड १६ लाख रुपैयाँ पुगेको छ भने लगानी तथा कर्जाबाट हुने आम्दानीमा २.०९ प्रतिशतको सामान्य गिरावट देखिएको छ।

हाल कम्पनीको वित्तीय स्थिति बलियो देखिन्छ। महाविपत्ति कोषमा ६३ करोड २७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ४७ करोड ७९ लाख रुपैयाँ, र अन्य इक्विटीमा १ अर्ब २८ करोड १० लाख रुपैयाँ रहेको छ।