काठमाडाैं । एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले संयुक्त रुपमा Safer Internet Together (SIT) नामक राष्ट्रिय साइबर सुरक्षा जागरूकता कार्यक्रम सुरु गरेका छन्। यो पहल साइबर सुरक्षा, डेटा गोपनीयता र डिजिटल सुरक्षा सम्बन्धी ज्ञान फैलाउने उद्देश्यले देशभरका विद्यालयहरूमा सञ्चालन हुने छ।
यस कार्यक्रमअन्तर्गत ३ देखि १२ कक्षाका विद्यार्थी, शिक्षक, र समुदायका सदस्यहरूलाई लक्षित गर्दै ५०,००० भन्दा बढी लाभार्थीहरूलाई डिजिटल सुरक्षा सम्बन्धी जानकारी प्रदान गरिनेछ।
पहिलो चरणको रुपमा बागमती, गण्डकी, र मधेश प्रदेशका सरकारी, सामुदायिक र निजी विद्यालयहरूमा पायलट प्रोजेक्टको रुपमा Awareness Session सञ्चालन गरिँदैछ। सहभागी विद्यार्थीहरूलाई विशेष तयार पारिएको भौतिक इंटरनेट सुरक्षा ह्यान्डबुक पनि वितरण गरिनेछ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलीले पोखरास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूसँग भेट गर्दै डिजिटल सुरक्षा र AI को जिम्मेवार प्रयोगबारे जानकारी दिएका थिए। उनले भने, “विद्यार्थीहरू र युवा पुस्तालाई सुरक्षित, जिम्मेवार, र आत्मविश्वासका साथ डिजिटल संसारमा अघि बढ्न सक्ने ज्ञान र सीप दिन यो SIT कार्यक्रम लक्षित छ।”
नासा सेक्युरिटीजका प्रबन्ध निर्देशक मदान पौड्यालले भने, “साइबर जागरूकता आजको युगमा वित्तीय साक्षरताजस्तै महत्वपूर्ण छ। यस पहलमार्फत विद्यार्थीहरूलाई डिजिटल फुटप्रिन्ट सुरक्षित राख्ने र प्रविधि जिम्मेवार तरीकाले प्रयोग गर्ने ज्ञान दिन्छौं। यो दीर्घकालीन डिजिटल सशक्तिकरण र समुदाय विकासप्रति हाम्रो प्रतिबद्धता पनि हो।”
अहिलेसम्म कास्की, ललितपुर, र भक्तपुरका नौ विद्यालयमा SIT सत्रहरू सञ्चालन भइसकेको छ, जसले ७,००० भन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित गरेको छ। सहभागी विद्यालयहरूमा श्री राष्ट्रिय माध्यमिक विद्यालय, श्री अमर सिंह माध्यमिक विद्यालय, लिटिल स्टेप माध्यमिक विद्यालय, भास्कर मेमोरियल स्कूल, र रेनबो अकादेमिक होम्स (कास्की), सेंट मेरीज स्कूल र बानी बिल्लास हाई स्कूल (ललितपुर), आदर्श हाई स्कूल (भक्तपुर) समावेश छन्।
