रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२.९८ प्रतिशतले वृद्धि

काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म ३९ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जसले अघिल्लो वर्षको सोही अवधिको ३५ करोड ३ लाख रुपैयाँ नाफाभन्दा १२.९८ प्रतिशत वृद्धि देखाएको छ।

कम्पनीको जीवन बीमा कोष चालु वर्षको पहिलो ६ महिनामा ३२.१६ प्रतिशतले वृद्धि भई १५ अर्ब २४ करोड १३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ११ अर्ब ५३ करोड २२ लाख रुपैयाँ थियो।

कुल बीमाशुल्क आर्जन २९.८४ प्रतिशतले वृद्धि भई ३ अर्ब ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ। यसैगरी, कम्पनीले पुससम्म खुद बीमाशुल्क २ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब २१ करोड ८७ लाख रुपैयाँभन्दा ३२.३९ प्रतिशत बढी हो।

कम्पनीको शेयरपुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ। वार्षिकीकृत प्रति शेयर आम्दानी (EPS) १५.२४ रुपैयाँ कायम भएको छ, अघिल्लो वर्ष १५.१० रुपैयाँ थियो। P/E अनुपात २१.९१ गुना रहेको छ भने नेटवर्थ प्रति शेयर १४४.९७ रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको शेयर प्रिमियम १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोष २२ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ८९ करोड २१ लाख रुपैयाँ, र अन्य इक्विटीमा ४ करोड २८ लाख रुपैयाँ रहेको छ।