–न्युज एजेन्सी नेपाली
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले कुल ६५ अर्ब ३९ करोड बराबरको विकास सहायताको प्रतिवद्धता प्राप्त गरेको छ। अर्थ मन्त्रालयको जानकारी अनुसार, यसमध्ये अनुदान १९ अर्ब २५ करोड र सहुलियतपूर्ण ऋण ४६ अर्ब १४ करोड रहेको छ।
गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा, यस वर्ष विकास सहायता प्रतिवद्धता कम देखिएको भए पनि वैदेशिक सहायता परियोजनामा वार्ता र नयाँ सम्झौताका कारण आगामी त्रैमासिकमा उल्लेख्य वृद्धि हुने सम्भावना छ। यस वर्ष २ खर्ब ८७ अर्ब रुपैयाँ विकास सहायता परिचालन गर्ने अनुमान गरिएकोमा समीक्षा अवधिसम्म ६१ अर्ब ७ करोड मात्रै प्राप्त भएको छ, जुन अनुमानको २१.२७ प्रतिशत हो।
अर्थ मन्त्रालयका अनुसार, हाल कार्यान्वयनमा रहेका वैदेशिक सहायता आयोजना प्रभावकारी रूपमा सञ्चालन भएमा प्राप्तिमा थप वृद्धिको सम्भावना रहेको छ। अहिले एसियाली विकास बैंकतर्फ २,१८६ मिलियन अमेरिकी डलर र विश्व बैंकतर्फ १,६०० मिलियन अमेरिकी डलर उपलब्ध स्रोत बाँकी रहेको छ।
तर, मन्त्रालयले विकास सहायता परिचालनमा केही समस्या पनि देखिएको जनाएको छ। वैदेशिक सहायताको वित्तीय सम्झौता भए पनि ठेक्का व्यवस्थापन, पूर्वतयारीको कमी र अन्तर निकाय समन्वय कमजोर हुँदा प्रतिवद्ध रकम भए पनि वास्तविक प्राप्ति अपेक्षाकृत कम भएको छ। उच्चस्तरीय संयन्त्रका बैठकहरू नियमित नहुँदा कार्यान्वयनमा समस्या लामो समयसम्म कायम रहने जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ।
सोमित, आर्थिक वर्षको सुरूवातमा १८ अर्ब २४ करोड २८ लाख खर्च भई शोधभर्ना लिनुपर्नेमा, पुस मसान्तसम्म १९ अर्ब १५ करोड खर्च भइसकेको र १४ अर्ब १७ करोड शोधभर्ना अझै बाँकी रहेको छ।
