काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रतिस्पर्धात्मक बीमा बजारको चुनौतीपूर्ण अवस्थाबीच पनि कम्पनीले नाफा तथा प्रमुख वित्तीय सूचकहरूमा स्थिरता कायम राख्दै सकारात्मक प्रगति देखाएको छ।
वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीको खुद नाफा १२ करोड रुपैयाँ रहेको थियो। यसरी समीक्षा अवधिमा कम्पनीको नाफा करिब २ प्रतिशतले वृद्धि भएको देखिन्छ। सीमित दरको भए पनि नाफामा भएको सुधारलाई कम्पनीको सञ्चालन क्षमता र वित्तीय स्थायित्वको संकेतका रूपमा लिइएको छ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड रुपैयाँ कायम रहेको छ। यस अवधिसम्म स्पेसल रिजर्भ १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष असार मसान्तसम्म १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ थियो। त्यस्तै, महाविपत्ति कोष १० करोड ७३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १० करोड १२ लाख रुपैयाँ रहेको थियो।
रिटेन्ड अर्निङ १९ करोड ९४ लाख रुपैयाँ र अन्य इक्विटी १६ करोड १२ लाख रुपैयाँ कायम रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङ ४२ करोड ९३ लाख रुपैयाँ र अन्य इक्विटी १९ करोड ४८ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
कुल मिलाएर, प्रभु इन्स्योरेन्सले चुनौतीपूर्ण बजार वातावरणबीच पनि नाफा र प्रमुख रिजर्भ सूचकहरूमा स्थिरता कायम राख्दै वित्तीय संरचना सुदृढ राख्न सफल भएको देखिन्छ।
