काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को माघ २९ गतेसम्म कुल ६ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको राजस्व व्यवस्थापन सूचना प्रणालीका अनुसार यो सङ्कलन वार्षिक लक्ष्यको ४५.२२ प्रतिशत हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म ६ खर्ब ४६ अर्ब ९८ करोड रुपैयाँ राजस्व उठेको थियो। यस वर्षको समीक्षा अवधिमा ३.४५ प्रतिशतको वृद्धि देखिएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। माघ २९ सम्मको अवधिगत लक्ष्य ८ खर्ब १३ अर्ब ६३ करोड रुपैयाँ रहेकामा सो अवधिसम्म ८२.२६ प्रतिशत प्रगति हासिल भएको छ।
माघ महिनाको मात्र लक्ष्य १ खर्ब २ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ थियो। माघ १ देखि २९ गतेसम्म ८३ अर्ब ५१ करोड २३ लाख रुपैयाँ सङ्कलन हुँदा मासिक लक्ष्यको ८१.५४ प्रतिशत प्रगति भएको देखिन्छ।
शीर्षकगत राजस्व अवस्था
भन्सार महसुलतर्फ १ खर्ब ३५ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ सङ्कलन भएको छ, जुन गत वर्षको तुलनामा ७.५३ प्रतिशतले बढी हो।
मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ १ खर्ब ९६ अर्ब रुपैयाँ सङ्कलन भएको छ। यसमध्ये आन्तरिक भ्याटबाट ७७ अर्ब ९५ करोड र पैठारीतर्फबाट १ खर्ब १८ अर्ब ४ करोड रुपैयाँ योगदान रहेको छ। भ्याट सङ्कलनमा ७.६३ प्रतिशतको सुधार देखिएको छ।
अन्तःशुल्कतर्फ १ खर्ब ५ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ सङ्कलन भएको छ। आन्तरिक उत्पादनबाट ४९ अर्ब ४४ करोड र पैठारीतर्फबाट ५५ अर्ब ९९ करोड रुपैयाँ प्राप्त भएको छ। अन्तःशुल्कमा १०.८८ प्रतिशतको उत्साहजनक वृद्धि भएको छ।
आयकरतर्फ १ खर्ब ७३ अर्ब ५५ करोड ९० लाख रुपैयाँ सङ्कलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.८१ प्रतिशतले घटेको छ। गैर–कर राजस्वतर्फ ६५ अर्ब ७१ करोड ७० लाख रुपैयाँ उठेको छ। शिक्षा सेवा शुल्कबाट १ अर्ब ५ करोड र वैदेशिक रोजगार सेवा शुल्कबाट ६७ करोड ९० लाख रुपैयाँ सङ्कलन भएको छ।
विभागगत प्रगति
विभागगत रूपमा भन्सार विभागले वार्षिक लक्ष्यको ४७.३३ प्रतिशत अर्थात २ खर्ब ७८ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ असुली गरेको छ।
त्यसैगरी आन्तरिक राजस्व विभागले वार्षिक लक्ष्यको ४३.५२ प्रतिशत अर्थात ३ खर्ब २० अर्ब ८८ करोड ६५ लाख रुपैयाँ सङ्कलन गरेको छ। माघ २९ गते एकै दिन सरकारले ४१ करोड ६८ लाख ६० हजार रुपैयाँ राजस्व उठाएको छ।
अन्य शीर्षकअन्तर्गत शिक्षा सेवा शुल्कबाट ३ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ र पूर्वाधार करबाट ११ अर्ब ५३ करोड ७० लाख रुपैयाँ सङ्कलन भएको छ।
