काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब २० दिन मात्र बाँकी रहँदा निर्वाचन तयारीले तीव्रता पाएको छ। निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न जिल्लामा मतपत्र ढुवानी सुरु गरेको छ।
आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालिएको हो। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार ती जिल्लाका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
आयोगले हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सकिएको जनाएको छ। यस अवधिसम्म कुल एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
मतपत्र छपाइ सम्पन्न भएका जिल्लाहरूमा डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेतसँगै बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ र सङ्खुवासभा रहेका छन्।
त्यस्तै, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोकका मतपत्रसमेत छपाइ भइसकेका छन्।
आयोगका अनुसार हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक रूपमा करिब एक हजार बाकस प्याकिङ तथा १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा भइरहेको छ। आयोगले पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकेको जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ, प्याकिङ र रुजु पूरा गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। यस्तै, प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ, जसको छपाइ माघ १६ गते बिहानदेखि सुरु भइसकेको छ।
