काठमाडौं । एनसेलले सुपर कृषकसँग साझेदारी गर्दै देशभरका किसानलाई मोबाइलमार्फत प्रिमियम डिजिटल कृषि सेवाहरू उपलब्ध गराउने घोषणा गरेको छ।
यस साझेदारीले नेपालका प्रत्येक जिल्लाका किसानले मोबाइल फोनमार्फत आधुनिक र प्रविधि आधारित कृषि सहयोग पाउने सुनिश्चित गरेको छ। घाम पावर नेपालले विकास गरेको सुपर कृषक प्लेटफर्ममा हाल ३०,००० भन्दा बढी किसान दर्ता भइसकेका छन्।
प्लेटफर्मले अनलाइन कृषि तालिम, कृषी डाक्टर, कृषी चीना (स्याटेलाइट निगरानी) जस्ता डिजिटल उपकरण र सेवाहरू उपलब्ध गराउँछ। किसानहरूले आफ्नो मोबाइलबाटै वास्तविक समयमा कृषि सल्लाह, रोग र कीरा पहिचान, र बाली निगरानीको जानकारी पाउन सक्छन्।
एनसेलको व्यापक नेटवर्क कवरेज र लाखौं सक्रिय प्रयोगकर्तासँगको पहुँचले सुपर कृषकका प्रिमियम सेवाहरूलाई सामान्य किसानसम्म सजिलै पुर्याएको छ।
सेवा सदस्यता लिन किसानले सुपर कृषी एपमार्फत तीन दिनमा रु १३/१४ भुक्तानी गरेर वार्षिक वा अर्धवार्षिक प्याक खरिद गर्न सक्छन्। सेवा सदस्यताबाट शुल्क मुख्य मोबाइल ब्यालेन्सबाट स्वतः काटिनेछ।
प्रिमियम सेवामा आधुनिक खेती अभ्यासको विस्तृत तालिम, ८०० भन्दा बढी बाली रोग र कीरा पहिचान गर्न सक्ने एआई–संचालित कृषी डाक्टर, र स्थानीय भाषामा डेटा आधारित व्यक्तिगत सल्लाह समावेश छ।
साझेदारीको पहिलो वर्षमा १२०,००० भन्दा बढी किसानलाई सेवा पुर्याउने लक्ष्य राखिएको छ। यस पहलले नेपालको कृषि क्षेत्रमा डिजिटल पहुँच विस्तार गर्ने ऐतिहासिक कदम मानिएको छ।
