काठमाडौं । ललितपुर जावलाखेलस्थित अल्का अस्पतालले सञ्चालन गरेको तीन दिने निःशुल्क बाथरोग शिविरबाट करिब २०० बढी बिरामी लाभान्वित भएका छन्। अस्पतालले माघ २५, २७ र २९ गते तीन दिन चलाइएको शिविरमा सहभागी सबैले स्वास्थ्य जाँच, परामर्श र आवश्यक औषधि प्राप्त गरेका हुन्।
अस्पतालका प्रशासन प्रमुख भगवान केसीकाअनुसार, यो शिविर अस्पतालको स्थापनाको २० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो। शिविरमा अस्पतालकी वरिष्ठ बाथरोग विशेषज्ञ डा. श्रेया श्रेष्ठले बिरामीहरूको प्रत्यक्ष स्वास्थ्य परीक्षण गर्दै आवश्यक परामर्श उपलब्ध गराएकी थिइन्।
तीन दिनको अवधिमा बिरामीहरूले निःशुल्क स्वास्थ्य परीक्षणसँगै बाथरोगसँग सम्बन्धित लक्षण देखिएका व्यक्तिहरूको लागि प्रयोगशाला परीक्षणको सुविधा समेत पाएका थिए। प्रमुख केसीले भनिन्, “बिरामीहरूले निःशुल्क परीक्षण र औषधि पाएपछि अत्यन्त खुशी व्यक्त गरेका थिए। हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित यस कार्यक्रमबाट धेरैले स्वास्थ्य लाभ उठाएका छन्।”
