आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले विश्व रेडियो दिवस को रूपमा मनाउने गर्दछन् । मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा रेडियोको महत्त्वपूर्ण योगदान छ ।
रेडियो इतिहास
रेडियोले एउटा इतिहास बोकेको छ, सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । एउटा अद्भुत आविष्कार जसले एउटाले बोलेको आवाज अथवा ध्वनि तार विहीन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकिन्थ्यो, सञ्चारको माध्यममा यो एउटा क्रान्ति थियो । सामान्यतः २० हर्जदेखि २० किलो हर्जसम्मको ध्वनि तरङ्ग मानिसले सुन्न सक्दछ तर यो परिधि बाहिरका रेडियो तरङ्गहरूलाई हामी रेडियो मार्फत सुन्दछौँ ।
विश्व रेडियो दिवस :पृष्ठभूमि
सन् २०११ मा युनेस्कोले विश्व समुदायका लागि निरन्तर रूपमा प्रभावकारी सञ्चारको माध्यम बनेर सस्तो तर सशक्त ढङ्गले दिएको योगदान स्वरूप यससँग जुटेका सम्पूर्ण रेडियोकर्मी र श्रोताहरूको सम्मानमा आजको विशेष दिनलाई विश्वभर विश्व रेडियो दिवस को रूपमा मनाउने घोषणा गरेको हो ।
नेपालको रेडियो
नेपाली परिवेशमा पनि त रेडियोको बेग्लै विशेषता छ । रेडियो नेपालमा पाण्डव सुनुवारको फोन टाइम, जयन्ती माला राज भण्डारीको तपाई यो गीत गाउनुस्, राजधानीको सन्देश, दीपक दीपाको राम विलास धनियाँ लगायत अन्य थुप्रै कार्यक्रमहरूको स्वाद र याद अझै ताजा हुने हामी धेरै जना छौँ । समाचार वास्तवमै सही हो कि हैन भनेर रेडियो नेपालको घटना र विचार र समाचार सुनेर मात्र ठम्याउने, रेडियो सँगै हाँस्ने र रुने एउटा जमात अझै पनि चलायमान छ ।
बढ्दो प्रविधिसँगै अन्य धेरै सञ्चारका साधनहरू थपिए तर रेडियोको एकतमासको स्नेह हामी सबैलाई नै छ । भूकम्पको बेला रेडियोको भूमिका फेरि पनि नेपालमा उत्तिकै देखियो, विसं २०७२ को महाभूकम्पमा अन्य सञ्चारका साधनहरूमा प्रतिकुलता आए पनि रेडियो नेपालमा आआफ्नो ठाउँ वाट फोन गरेर या सन्देश टिपाएर समाचार दिने गर्दा धेरै हदसम्म क्षतिको अनुमान र उद्धार कार्य सम्मले सही दिशा पायो ।
शर्टवेब, मिडियमवेब हुँदै फ्रिक्वेन्सी मोडयूलेशन अर्थात् एफएम सम्म आइपुगेको नेपाली रेडियोको हरेक स्वरूपमा अनेक पुस्ताहरूको अनुभव र याद लुकेको छ ।
नेपाली राजनैतिक परिवृत्त र आन्दोलनका श्रृखलाहरु मा पनि नेपाली रेडियोको भूमिका अतुलनीय छ । ७ सालको क्रान्तिमा रेडियो नेपालको भूमिका, ४६ साल, जनयुद्धका डोके रेडियोहरू मार्फत पढिने छापामारका पत्रहरू देखि एफएम र गीतका फर्माइस, अनि आज आएर गरिने पोडकास्टहरु सम्म रेडियोका विभिन्न स्वरूपहरू नै हुन् ।
पछिल्लो समय रेडियोमा फरकता आउँदैछ । यो राम्रो हो ।
हाम्रो पात्रोबाट साभार
